गृहपृष्ठ महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब पराजित

महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब पराजित

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब पराजित भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १–० गोल अन्तरले पराजित भएको हो । बलियो टिम पुलिसविरुद्ध वालिङलाई जित दिलाउन मेथो रुथले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा क्यामरुनी खेलाडी रुथले निर्णायक गोल गरेकी हुन् । जितसंगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

वालिङले ७ खेलमा ११ अंक जोडेको छ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगर महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले लिगमा दोस्रो जित निकालेको हो । चन्द्रपुरको जितमा रजनी थोकरले ७० औं मिनेटमा निर्णायक गोल गरिन् । दोस्रो जित निकालेसंगै चन्द्रपुरले ७ खेलमा ६ अंक जोडेको छ ।

विराटनगरको ७ खेलमा १० अंक छ । महिला लिग अन्तर्गत सोमबार एक खेल हुनेछ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपीएफ र चौदण्डीगढी नगरपालिका भिड्ने छन् ।

प्रकाशित समय २२:२० बजे

प्रतिक्रिया दिनुहोस्