Gopal Dahal

गृहपृष्ठ आज श्रीपञ्चमी, सरस्वतीपूजा महिमासहित हेर्नुहोस् आजको दिन २०७७ फागुन ४ गते

आज श्रीपञ्चमी, सरस्वतीपूजा महिमासहित हेर्नुहोस् आजको दिन २०७७ फागुन ४ गते

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको ४ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको १६ तारिख, समंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ शुक्लपक्षको पञ्चमी तिथि राति ५।० बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र राति ८।३८ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।४२ मा छ भने सूर्यास्त बेलुका ५।५५ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।

आज श्रीपञ्मी अर्थात् सरस्वतीपूजा गर्ने दिन हो । श्रीपञ्चमी माघ शुक्ल पञ्चमीका दिन पर्ने गर्दछ । पञ्चमी तिथिकै दिन भगवतीको उपासना गर्नुका पछाडि पूर्णताको रहस्य रहेको छ । सरस्वती पूर्णब्रह्म हुनुहुन्छ । यसरैगरी पञ्चमी पूर्ण तिथिका रूपमा लिइन्छ । शुक्लपक्षमै भगवतीको उपासना गर्नुको तात्पर्य पनि भगवतीसँग अन्तर्निहति पाइन्छ । भगवतीलाई सर्वप्रिय रङ सेतो हो । वहाँ सेता वस्त्रले वेष्टित र सेतै कमलको आसनमा निवास गर्नुहुन्छ । माघ प्रिय महिना भएकाले माघशुक्ल पञ्चमीमा सरस्वतीको विशेष उपासना गरिएको हो । जसलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतुको पूर्वसन्ध्या अर्थात् आरम्भको संकेत यस दिनबाट हुने गर्दछ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने विशेष दिनका रूपमा पनि यो दिन प्रसिद्ध छ । यस दिन साकार रूपमा भगवतीले अवतार ग्रहण गर्नुभएको प्रसङ्ग पुराणमा उल्लेख पाइन्छ । आद्यशक्तिकै साकार स्वरूमा प्रकट भएकाले यस दिनलाई भव्यरूपमा विशेष पर्वका रूपमा मनाइएको हो । वसन्त ऋतु आगमनको पूर्वाभाष स्वरूप यस दिन वसन्त महिमा गायन एवं श्रवण गर्ने गरिन्छ । विद्याकी देवी भगवती सरस्वतीको विशेष प्रिय दिन रहेकाले पनि वसन्त पञ्चमीलाई भव्य रूपमा मनाइएको हो । यस दिन विद्या आरम्भ गर्न, नाक कान छेड्नुका साथै विद्यासँग सम्बन्धित कार्यको आरम्भ गर्न उत्तम हुने कुरा ज्योतिष शास्त्रमा पनि वर्णन भएको पाइन्छ । संसार ज्ञानकै आँगनमा अडिएको हुनाले ज्ञान अर्थात् विद्याका उपासक सवैले यस दिन सरस्वतीको विशेष पूजा आराधना गर्ने गर्दछन् ।
माघ शुक्ल पञ्चमीका दिन शुद्ध स्नान पूर्वक भगवती सरस्वतीको मन्दिर गई विधि पूर्वक सरस्वतीको पूजा आराधना गरिन्छ । यस दिन भगवतीको षोडशोपचारले विशेष पूजा हुने गर्दछ । पूजा पश्चात् भगवती प्रति विद्याको वरदन माग्न स्तुति प्रार्थना गर्नुका साथै आआफ्ना कलाको प्रदर्शन एवं अभ्यास गरिन्छ । संगीतका पारखीहरू यस दिन वसन्त रागको गान गर्ने गर्दछन् । सरस्वतीको पूजा गर्नु भनेको विद्याको उपासना गर्नु हो । सरस्वती केवल पुष्प चन्दन अक्षताले मात्र खुशी हुनुहुन्न । जसले विद्याको साधना गर्छ उसैका मुखमा सरस्वतीको वास हुन्छ ।

आजको राशिफल २०७७ फागुन ४ गते

मेष राशिः ग्रहबल आज कमजोर रहनेछ । खर्चमा वृद्धिका साथै कार्यमा अवरोधको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहनेछ ।

वृष राशिः व्यवसायमा सफलता मिल्नेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । भौतिक वस्तुबाट लाभ रहनुका साथै दिन सुखमय रहने देखिन्छ ।

मिथुन राशिः आर्थिक लाभ हुनेछ । मित्र सुख मिल्नुका साथै यात्राका योग पनि देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्ने आजको राशिफल रहेको छ ।

कर्कट राशिः दिन सुखद् रहने छ । कार्य लाभका साथै विद्याको क्षेत्र सबल देखिन्छ । मित्र पक्षको साथ सहयोगले दिन सफल रहनेछ ।

सिंह राशिः कार्यमा बिलम्ब रहनसक्नेछ । ग्रहबल कमजोर रहने भएकाले आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धिहुनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

कन्या राशिः वृत्ति लाभ हुनेछ । अर्थिक उन्नतिका साथै अध्ययन अध्यापनमा रुचि रहनेछ । प्रेम जीवन सार्थक र सुखद् रहने देखिन्छ ।

तुला राशिः व्यवसायमा सफलता मिल्नेछ । कार्यमा उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहने देखिन्छ । विद्याको क्षेत्र उन्नत नै रहनेछ ।

वृश्चिक राशिः द्रव्य लाभ हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै यात्राका योग देखिन्छन् । जलीय वस्तुबाट लाभ रहने आजको राशिफल रहेको छ ।

धनु राशिः बोलीमा विकार रहनसक्नेछ । आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलताको सामना गनुृउपर्ने देखिन्छ । विद्याको भाव मध्यम फलदायी रहनेछ ।

मकर राशिः बौद्धिक कार्यमा रुचि जाग्नेछ । शारीरिक स्फुर्तिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुने देखिन्छ । आर्थिक पक्ष सबल नै रहनेछन् ।

कुम्भ राशिः प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै मित्र पक्षबाट लाभ हुने देखिन्छ । खेल क्षेत्रमा विशेष रुचि रहने आजको राशिफल रहेको छ ।

मीन राशिः धार्मिक कार्यमा रुचि रहनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । जलीय वस्तु आज लाभदायी रहनेछन् ।

प्रकाशित समय ०४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal