Gopal Dahal

गृहपृष्ठ नेपालको ऐनमा गरिएको मानव बेचबिखनको परिभाषा संशोधन गर्न सरकारलाई मञ्चको ध्यानाकर्षण

नेपालको ऐनमा गरिएको मानव बेचबिखनको परिभाषा संशोधन गर्न सरकारलाई मञ्चको ध्यानाकर्षण

सरोकारवालाहरुले मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषालाई संशोधन गरिनुपर्नेमा जोड दिएका छन् ।

महिला, कानून र विकास मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा र मानव बेचबिखन’ विषयक छलफल कार्यक्रममा उनीहरुले अन्तरराष्ट्रिय कानूनअनुसार मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषालाई संशोधन गरिनुपर्नेमा जोड दिएका हुन् । ऐनको प्रावधान अन्तरराष्ट्रिय कानूनसँग मेल नखाने भएकाले सुपुर्दगी एवं कारवाही प्रक्रियामा असहजता आई कार्यान्वयन हुन नसक्ने हुँदा संशोधन गरिनुपर्ने उनीहरुको भनाई छ । ऐनमा ठगी हुने व्यवस्था गरिए पनि कारवाहीको प्रावधान नराखी जरिवाना मात्र गर्ने कानून बनाइएकाले पीडितले न्याय पाउन नसकेको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताउनुभयो । संयुक्तराष्ट्र सङ्घका सदस्य भएका १९३ वटै देशका दायित्व र प्रतिबद्धताको कार्यान्वयन अवस्थालाई वार्षिकरुपमा समीक्षा गर्ने गरिएको र साढे चार वर्षमा प्रत्येक देशको समीक्षाको पालो आउने उहाले बताउनुभयो ।

यसरी गरिएको समीक्षाका क्रममा मानव बेचबिखन तथा ओसारपसारका सन्दर्भमा नेपालको ऐनमा गरिएको बेचबिखनको परिभाषा अन्तरराष्ट्रिय कानूनअनुसार मेल नखाएको भनी सरकारलाई संशोधन गर्न ध्यानाकर्षण गराइएको मञ्चले जनाएको छ । सन् २०११ देखि एक दशकको अवधिमा तीनपटक नेपालको प्रतिवेदनका विषयमा छलफल भइसकेको कार्यक्रममा जानकारी गराइएको छ । नेपालको कानूनमा वैदेशिक रोजगार र मानव बेचबिखनलाई एउटै भन्ने जस्तो गरी प्रस्तुत गरिएकामा सदस्य देशले टिप्पणीसहितको सुझाव दिँदै आएका छन् ।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal