Gopal Dahal

गृहपृष्ठ पत्रकारलाई तनाव ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण 

पत्रकारलाई तनाव ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण 

 

कोरोना भाइरस(कोभिड– १९) ले पारेको मानसिक तनाव र यसको व्यवस्थापनका बारेमा पत्रकारहरुलाई भर्चुअल माध्यमबाट अभिमुखिकरण गरिएको छ । स्वतन्त्र पत्रकार संघ नेपालको बाँके शाखाको आयोजनामा जेठ १४ गते भएको उक्त कार्यक्रममा मुलुभरका पत्रकारहरू सहभागी थिए ।

कोभिड– १९को दोस्रो प्रकोप बढी रहेको बेलामा मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्यको राष्ट्रिय अभियान नेपाल काठमाडौंको प्राविधिक सहयोगमा गरिएको अभिमुखिकरण कार्यक्रममा उक्त अभियानका संयोजक एवम् मनोविद गोपाल ढकालले सहजिकरण गर्नु भएको हो । यतिबेला कोभिड– १९ का कारण मुलुकभर जनजीवन प्रभावित भइरहेको छ । यस्तो अवस्थामा पहिलो पंक्तिमा बसेर आमनागरिकलाई सुसूचित गराउने दायित्व बोकेको पत्रकारजगत अछुत नरहनु स्वभाविक हो । सोही स्थितिलाई ध्यानमा राख्दै पत्रकारहरूले मानसिक तनाबका बारेमा उनीहरूको मनोबल उच्च बनाउन भर्चुअल माध्यमबाट निःशुल्क अभिमुखिकरण गरिएको हो ।

मनोविद गोपाल ढकालले अहिलेको समय सबैका लागि तनावपूर्ण समय हो, अझ अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरूमा विद्यमान परिस्थिति, कामको बोझ तथा परिवार व्यवस्थापनले थप तनाव बढाएको बेलामा मनोपरामर्शको खाँचो पर्ने बताउनु भयो । उहाँले अहिलेको तनावपूर्ण समयमा त्यसलाई व्यवस्थापन गर्ने तरिकाहरू, स्वहेरचाहका उपायहरू, विपत्तिको समयमा देखा पर्न सक्ने मानसिक स्वास्थ्य समस्या र यसका लक्षणहरू तथा बच्ने उपायहरूका विषयबारेमा प्रकाश पार्नु भएको थियो ।

ढकालले कामको बोझ तथा तनावका कारण अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मी तथा पत्रकारहरूमा रिस उठ्ने, झर्को लाग्ने, छट्पटी हुने, काम गर्ने जोसजागर हराउने, निद्रा नलाग्ने, बढी थकाई महसुर हुने, पेट छाती दुख्ने पोल्ने, अरुलाई संक्रमण सार्छु कि ! भन्ने चिन्ता सहित डिप्रसनको समस्या समेत हुन सक्ने स्थिति औंल्याउँदै त्यसका लागि आफ्नो उच्च आत्मबल आवश्यक रहेको बताउनु भयो । यस्तो बेलामा मनोबललाई कसरी उच्च बनाउन सकिन्छ ? भन्ने विषयमा ढकालले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै सहभागी स्वतन्त्र पत्रकार संघ नेपालको रुपन्देही शाखाका निवर्तमान अध्यक्ष अनिल पहाडीले धेरै राम्रो रह्यो, यो विषम परिस्थितिमा खासगरी पत्रकारहरूले महसुस गरेको उनीहरूमा रहेको सोचाई अनि भोगेको भावनात्मक तनावपूर्ण अवस्थालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा निकै महत्वका साथ सम्बोधन गर्न सफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आम जनजीवनले भोगे जस्तै मनोबैज्ञानिक पीडा स्वयम् पत्रकारहरूले पनि भोगिरहेको अवस्थामा आफू र आफ्नो परिवारलाई मजबुत बनाउन आफ्नै आत्मबल बलियो बनाउदै पेशागत कार्यमा अगाडि बढ्नु पर्नेमा कार्यक्रमको जोड रहेको पाएँ ।’
यसैगरी, स्वतन्त्र पत्रकार संघ नेपालका मोरङ शाखाका अध्यक्ष विजय खतिवडाले ‘कार्यक्रम समय सान्दर्भिक छ, निरन्तरता दिएमा अझ राम्रो हुने’ बताउनु भयो । त्यस्तै संघको लमजुङ शाखाका अध्यक्ष खुशीमाया गुरुङले कार्यक्रममा कोभिड– १९ सँगै मानसिक तनावका बारेमा जान्न पाएँ र यी दुबैसँग हामीले कसरी लड्नु पर्छ, कसरी तनाव मुक्त हुने पनि सिक्न पाइयो धेरै खुशीको अनुभुति भा’छ कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ भन्नुभयो ।

स्वतन्त्र पत्रकार संघ नेपालमा आबद्ध सबै पत्रकारहरूलाई आवश्यक पर्दा निःशुल्क मनोपरामर्श तथा अन्य आवश्यक सेवा दिने प्रतिवद्धता व्यक्त गर्नु हुँदै अभियानका राष्ट्रिय संयोजक समेत रहनु भएका मनोविद ढकालले आफ्नो प्रस्तुतिको अन्त्य गर्नु भएको थियो ।

स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले स्वागत गर्दै उद्देश्यमा प्रकाश पार्नु भएको कार्यक्रम सहभागीहरूको परिचयसँगै शुरु भएको थियो । कार्यक्रमको बीचमा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार नवराज पहाडीले स्वतन्त्र पत्रकार संघ नेपालको पृष्ठभूमि र गरिरहेका कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो । स्वतन्त्र पत्रकार संघका पदाधिकारी, सदस्य लगायत मुलुकभरका अन्य पत्रकारसमेत ७० भन्दा बढको कार्यक्रममा सहभागिता थियो । कोभिड– १९को सक्रमणका बीच भोगेका समस्या र समाधानको उपायका बारेमा सहभागीहरूले राखेका प्रश्नका बारेमा पनि मनोविद ढकालले जवाफ दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्षले प्राविधिक सहयोग गर्ने संस्था र मनोविद ढकालका साथै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै समापन गर्नु भएको स्वतन्त्र पत्रकार संघ बाँके शाखाका सदस्य हेमराज भट्टले बताउनु भयो ।

स्मरणीय छ, कोभिड– १९को दोस्रो प्रकोप शुरु भएदेखि हालसम्म मुलुकभर कोरोनाबाट ८५० जना पत्रकारहरू संक्रमित भएका छन् । तीमध्ये २५० मा सक्रिय संक्रमण छ । आठ जनाको भेन्टिलेटरमा उपचार चलिरहेको छ भने आजका दिनसम्ममा १६ जना भन्दा बढि पत्रकारले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित समय २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal