Gopal Dahal

गृहपृष्ठ मुख्यमन्त्री केसीले पाए विश्वासको मत

मुख्यमन्त्री केसीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभामा रहेका ८० सदस्यमध्ये ४२ जनाले उनलाई विश्वासको मत दिए। विपक्षमा भने कुनै पनि मत परेन।

केसीलाई नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिह्नबाट चुनाव लडेका विवादास्पद अजय शाही र विमला वलीले उनको पक्षमा मतदान गरेका हुन्। केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

विश्वासका मतका लागि ४१ मत आवश्यक रहेको थियो। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य कायम छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चौथो बैठक पनि बहिस्कार गरेको छ। एमालेका ३७ सदस्य छन्।

को हुन् केसी ?

तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन्। नेकपा (एमाले) र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए।

नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका केसी २०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए। २०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए।

नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए।

प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर २०४८ देखि २०५० सम्म शिक्षण पेशामा आवद्ध उनी २०५० देखि ०५२ सम्म नेकपा (एकता केन्द्र)को रोल्पा इलाका सेक्रेटरी थिए। २०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहे।

२०५६ मा पार्टीको भेरी-कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भएका उनी २०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बने। २०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती-नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी २०६० मा भारतको पटनाबाट गिरफ्तार भए र २०६३ मा रिहा भए।

२०६३ देखि ६८ सालसम्मको अवधिमा उनी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहे। त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज बने।

प्रकाशित समय १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal