Gopal Dahal

गृहपृष्ठ जसपाका दुई समूहबिच भएन सहमति, अब निर्वाचन आयोगको इजलासले छिनोफानो गर्ने

जसपाका दुई समूहबिच भएन सहमति, अब निर्वाचन आयोगको इजलासले छिनोफानो गर्ने

जनता समाजवादी पार्टी नेपाल (जसपा)का दुई समूहबिच विवाद समाधानमा सहमति हुन सकेन। निर्वाचन आयोगले मंगलवार अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई सहमतिका लागि बोलाएको थियो। तर, उनीहरुले मिल्न नसकिने बताएपछि विवाद समाधान हुन नसकेको हो।

आयोगसँगको छलफलमा अध्यक्ष ठाकुरले मिलेर जानुपर्ने प्रस्ताव गरे पनि यादवले मिल्न नसकिने बताएका थिए। ठाकुर समूहका नेता तथा केन्द्रीय कार्यकारीणी सदस्य सुरेन्द्र झाले यादवले मिल्न नचाहेको आरोप लगाए।

‘ठाकुरले पार्टीको फुट दुस्खद् हुन्छ मिलेरै जाउँ भन्नुभयो तर यादवले नीति सिद्धान्त र कार्यशैली नै फरक भएकाले मिल्न नसक्ने बताए,’ यादव-ठाकुरलाई उदृत गर्दै झाले भने।

यस्तै, यादव समूहका नेता महम्मद इस्तियाक राईले ठाकुर पक्षले आत्मालोचना गरेमा मात्रै मिल्न सकिने बताए। ‘प्रतिगमनलाई साथ दिनुभएको छ। त्यसलाई छोडेर आत्मालोचना गर्नुभयो भने मात्रै मिल्न सकिन्छ,’ उनले भने।

असार ४ गते यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३, को दफा ४३ को (ग) अनुसार आधिकारिकता दाबी गरेका थिए।

अर्का अध्यक्ष ठाकुरले असार १४ गते यादवको दाबी सहि नभएको भन्दै लिखित जवाफ पेश गरेकोमा निर्वाचन आयोगले आज छलफलका लागि बोलाएको थियो। दुवै पक्षका दाबीका आधारमा छलफलका लागि उनीहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले सहमति कायम नभएमा इजलास गठन हुने र त्यसबाट छिनोफानो हुने बताए । ‘सहमति कायम भएमा अहिलेको पार्टीको संरचना मान्य हुने नभएमा सुनुवाई प्रक्रिया सुरु हुनेछ,’ उनले भने।

दुई पक्षबिच सहमति नभएमा विवाद छिनोफानोका लागि बुहमतीय प्रक्रियामा जाने उनले बताए। बहुमत पुग्नेलाई आधिकारिक पार्टी दिने र पार्टीमा ४० प्रतिशत पुगेमा अर्को पक्षलाई आधिकारिक रुपमा दल विभाजन दिने र पुगेन भने निर्वाचन आयोगले अर्को दल खोल्न अनुरोध गर्नेछ।

प्रकाशित समय ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal