Gopal Dahal

गृहपृष्ठ गण्डकीमा नयाँ मुख्यमन्त्री बन्न २४ घण्टे म्याद, कांग्रेसलाई अन्तिम मौका

गण्डकीमा नयाँ मुख्यमन्त्री बन्न २४ घण्टे म्याद, कांग्रेसलाई अन्तिम मौका

नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८(५) बमोजिम नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेकी छन् ।

गण्डकीका मुख्यमन्त्री गुरुङले बिहीवार प्रदेश सभामा राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएपछि नयाँ मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढेको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो ३ बजेसम्मका लागि नयाँ मुख्यमन्त्रीमा दाबी गर्ने समय दिइएको जानकारी दिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्री छानेर सरकार बनाउन विपक्षी दलहरू तयारी अवस्थामा रहेका छन् । पोखरेलको नेतृत्वमा आवश्यक ३१ सांसद सशरीर उपस्थित भएर बहुमत रहेको दाबी गर्ने तयारी रहेको छ ।

कूल ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) नेपाल र स्वतन्त्र सांसद दिपक मनाङेलाई जोड्दा ३१ सांसदको समर्थन पुग्छ ।

शुक्रबारको प्रदेशसभा बैठकबाट जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि पदमुक्त भएको सूचना वाचन भइसकेकाले हाल ३० सांसदको समर्थन भएपनि बहुमत पुग्ने अवस्था रहेको छ ।

स्वतन्त्र सांसद दिपक मनाङेले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएर प्रदेशसभाको रक्षाका लागि विपक्षी गठबन्धनलाई सघाउने घोषणा गरिसकेका छन् । मिडिया डबलीबाट

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal