Gopal Dahal

गृहपृष्ठ नेपाल समूहलाई फुटाउन ओली सक्रिय

नेपाल समूहलाई फुटाउन ओली सक्रिय

नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल पक्षधरलाई फुटाउन बालुवाटार सक्रिय भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू पछिल्लो समय एकताका नाममा नेपाल समूहलाई फुटाउन सक्रिय भएको हो। ओलीले संकट बेला वार्ताको कार्ड फ्याँक्ने र सुरक्षित बन्नेभित्री चालबाजी अन्तरगत नेपाल समूहलाई फुटाउन सक्रिय बनेका हुन्।

ओलीले आइतबार साँझ ६ बुँदे प्रस्तावसहित एकताका लागि आह्वान गरेका थिए। उनले चलाखीपूर्ण रूपमा आफूहरू सशर्त जेठ ३ मा फर्कन तत्पर रहेको बताएका थिए। नेपाल समूहले यसलाई ओलीको चालबाजी भन्यो। नेपाल समूहले ओलीको चालबाजीपूर्ण भ्रममा नपर्न कार्यकर्तालाई अपिल समेत गर्‍यो। यो समूहले एकताका लागि ओलीले इमानदारिताका साथ प्रस्ताव नल्याएको ठहर सहित पार्टी पुनर्गठन गर्ने विषयमा छलफल अघि बढायो। उक्त विषयमा नेपाल समूह विभाजित भयो।

संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले फैसला नआएसम्म एमालेभित्र संघर्ष गर्ने वा वैकल्पिक पार्टी बनाएर अघि बढ्ने भन्नेमा निर्णय लिन सकेन। जसको फाइदा लिन ओली पक्ष निरन्तर लागि परेको छ। प्रधानमन्त्री ओली संसद पुनर्स्थापना भए माधव पक्षलाई गरिएका कारबाही फिर्ता गर्ने र फकाएर आफू नै प्रधानमन्त्री हुने दाउमा छन्। यसकै लागि उनले स्पष्टीकरण सोधिएका थपलाई कारबाही गरेका छैनन्।

अर्कोतर्फ नेपालसहितका केही नेता बाहेकलाई बाहिर राखेर एकताको प्रयास अघि बढाएको छ। त्यसमा नेपाल समूहका नेताहरू घनश्याम भुसाल सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट लागि परेको देखिन्छ। उनीहरूले केही दिनयता ओली पक्षसँग निरन्तर छलफल गरिरहेका छन्। बालुवाटारले नेपाल पक्षमा तीन गुट रहेको विश्लेषण गरेको छ। त्यसमध्ये एउटा गुट जस्तोसुकै अवस्थामा नेपाल पक्षमै रहने तर अन्य दुई गुटमा खेल्न सकिने बालुवाटारको आन्तरिक आंकलन छ।

ओलीनिकट एक नेताका अनुसार नेपाल पक्षका ती तीन गुट यस्ता छन्ः पहिलो नेपाल, झलनाथ खनालसँगै नेता भीम रावलको समूह। उक्त समूहमा अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, रघुजी पन्त, युवराज ज्ञवाली र मुकुन्द न्यौपानेलगायतका स्थायी कमिटी सदस्य छन्। रावलबाहेक अन्यसँग तल्ला कमिटीहरूमा ठुलो प्रभाव नरहेको विश्लेषण बालुवाटारको छ। उक्त विश्लेषण सुनाउँदै ओलीनिकट एक नेता भन्छन्, ‘रावलबाहेक अरू भोकल्ड पनि हैनन् र ‘पब्लिक फेस’ पनि छैनन्। त्यसैले उक्त समूहका नेताहरूसँग कुरा गर्न जरुरी ठान्नुभएको छैन।’

नेपाल समूहमा अर्को उपसमूह छ, जुन पहिले नेता झलनाथ खनाल अन्तर्गत चल्थ्यो। तर, अहिले त्यसलाई स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले चलाउँछन्। त्यो समूहमा दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवारलगायत छन्। नेपाल पक्षको केन्द्रीय कमिटीमा त्यो समूहको राम्रो प्रभाव छ। पार्टी फुट्ने अवस्थामा सकेसम्म पुरै समूह नभए ठुलो हिस्सा एमालेमा फर्काउन सकिने विश्लेषण ओली पक्षको छ। पछिल्लो समय अध्यक्ष ओली नेता पाण्डेसँग सम्पर्कमा छन्। ओली पक्षका अनुसार संवाद ‘सकारात्मक’ छ।

नेपाल पक्षमै रहेको अर्को उपगुट हो, पूर्व मालेहरूको। जसको नेतृत्व घनश्याम भुसाल र योगेश भट्टराईले गर्छन्। उक्त समूहले यसअघि पार्टी विभाजनको पीडा भोगेको छ। त्यसैले सकेसम्म पार्टी एकता जोगाउन उनीहरू सक्रिय छन्। एमालेको नेपाल पक्ष फुटेर अर्कै पार्टी निर्माण गर्न अग्रसर भयो भने यो समूह ‘पछि हट्ने’ संकेत बालुवाटारले प्राप्त गरेको छ। ‘सम्मानजनक’ भूमिकासहित पार्टीमा यो समूहलाई फर्काउन बालुवाटार सक्रिय छ। त्यसका केही असर देखिन थालेका छन्।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिँदा नेपाल समूहले बहिस्कार गरेको थियो। सोहिक्रममा नेपाल समूहका केही नेताहरू उक्त निर्णयलाई बेवास्ता गरी विश्वासको मत दिन संसद् भवन पुगेका थिए। त्यति बेला नेपाल समूहको निर्णय पालना गरेका केही नेताहरू पनि अहिले ओलीको षड्यन्तमा परेका छन्। सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि नै मन चञ्चल बनाइरहेका नेताहरूलाई ओलीले आफ्नो समूहमा ल्याउन प्रयत्नमा गरिरहेका छन्।

जसअनुसार नेपाल समूहका नेता गणेश पहाडी ओलीले पुनर्गठन गरेको मन्त्रीपरिषदमा अटाएका छन्। यद्यपि आफू बालुवाटारतर्फ ढल्किने संकेत भने पहाडीले पहिले पनि गरेका थिए। त्यही कारण हुनसक्छ, वैशाख १० गते बसेको आफू पक्षीय बैठकमा ओलीले नै ‘पहाडीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको’ ब्रिफिङ गरेका थिए। लामो समयदेखि नेपाल पक्षीय भनेर चिनिएका पहाडी ओली पक्षतिर लाग्नुको ‘अर्को अर्थ’ समेत रहेको बताउन थालिएको छ।

नेकपा एमालेलाई २०७५ साल जेठ २ मा फर्काउने लक्ष्यसहित संघर्ष गरिरहेको नेपाल पक्षलाई छाडेर बालुवाटार प्रवेश गर्ने शृंखला पछिल्ला दिनमा तीव्र देखिन्छ। नेपाल निकटस्थ मानिने लालबाबु पण्डित र शेरबहादुर तामाङ नेकपाकालमै ओली पक्षमा पुगिसकेका थिए। पुस ५ पछिको राजनीतिक र कानुनी लडाइँमा सक्रिय रूपमा साथ दिएका कृष्णभक्त पोखरेल र विष्णु रिजाललगायत नेताहरू प्नि ओली पक्षमा पुगिसकेका छन्।

निवर्तमान सांसदकै गणना गर्ने हो भने नेकपा एमालेमा नेपाल पक्षमा रहेका भनिएका ४३ जनाबाट वैशाख २७ सम्म घट्दै २८ पुगे। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बालुवाटार हस्ताक्षर बुझाउनेमा २६ जना थिए। सर्वोच्च अदालतमा रिट दायर गर्ने दिनसम्म आइपुग्दा २३ जना मात्रै सांसद नेपालको साथमा छन्। नेपाल समूहमा रहेका गोकर्ण विष्ट र योगेश भट्टराईले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर गरेको रिटमा हस्ताक्षर गरेका छैनन्।

अहिले पनि एकताका लागि भन्दै बिचमा बसिरहेका उनीहरुमाथि नेपाल पक्षले खुलेर ‘भरोसा’ गर्न पनि सकेको छैन। नयाँ पार्टी निर्माणकै तहमा पुग्ने दिनसम्म नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको पनि ‘भर’ छैन। उनीहरूले गर्ने निर्णयले अन्य नेता र कार्यकर्तामा समेत प्रभाव पार्नेछ। नेपाल समूहमा रहेका सांसदमध्ये कृष्णभक्त पोखरेल, गोपाल बम, मायादेवी न्यौपाने, राजबहादुर बुढा क्षेत्री, पार्वतीकुमारी विसुन्खे, ध्रुवकुमार शाही, समिना हुसेन, जयकुमार राई, हिराचन्द्र केसी, भवानीप्रसाद खापुङ, बिनादेवी बुढाथोकी, गङ्गा चौधरी सतगौवा र विष्णु शर्मा बिस्तारै ओली पक्षमा आएको बताइन्छ।

गत आइतबार एमाले अध्यक्ष ओलीले एकताका लागि आव्हान गरे। त्यसलाई केहीले ओलीको ‘रियलाइजेसन’का रूपमा पनि लिए। ओलीको त्यस्तो आह्वानपछि एमाले एकता प्रक्रिया अघि बढ्ने अपेक्षा धेरैले गरेका थिए। तर, हप्ताको अन्त्यतिर आइपुग्दा त्यो ‘फन्डा’मा सीमित भएको छ। किनभने त्यसपछि नेपाल समूहले दिएको ‘प्रतिक्रिया’लाई बालुवाटारले नजरअन्दाज गरेर बसेको छ। प्रधानमन्त्री ओली नेता नेपालसँग ‘एकता’ गर्न चाहिरहेका छैनन् भन्ने स्पष्ट नै छ।

प्रकाशित समय १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal