Gopal Dahal

गृहपृष्ठ जनता कोरोनाले मरेको भन्दा ओलीलाई बादल हार्ने चिन्ता

जनता कोरोनाले मरेको भन्दा ओलीलाई बादल हार्ने चिन्ता

एउटा देशको प्रधानमन्त्रीको दायित्व, कर्तव्य र जिम्मेवारी के हुन्छ ? उसको पहिलो दायित्व हो जनताको जिउधनको सुरक्षा गर्नु । जनतालाई परेको संकटबाट मुक्त गर्नु ।

तर, देशमा अहिले कम्युनिस्ट पार्टीको सरकार छ । प्रधानमन्त्री केपी ओली छन् । झन्डै दुई तिहाइको बहुमतको सरकार गुमाएर ओली अहिले अल्पमतको एमाले सरकार चलाइरहेका छन् ।

देश एक वर्षदेखि नै कोरोनाको महाव्याधिले आक्रान्त छ । तर, यो एक वर्षमा ओलीले कहिल्यै पनि गम्भीर भएर कोरोनाविरुद्ध लड्न र तयारीमा लाग्ने काम गरेनन् । एक वर्ष नेकपाको किचलोमै बिताए ।

त्यही किचलोले प्रतिनिधिसभा विघटन गरे र कलंकको टीका लगाए । अहिले एमालेमै किचलो झिकेका छन् । देशमा दैनिक दुई सयभन्दा बढी कोरोना संक्रमणका कारण निधन भइरहेकोप्रति ओलीलाई कुनै चिन्ता छैन ।

यतिबेला उनको प्रमुख चिन्ता हो राष्ट्रिय सभा निर्वाचनमा रामबहादुर थापा बादलले हार्छन् कि भन्ने । त्यसैले उनले प्रधानमन्त्री पदको गरिमामा आँच आउने गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्दै बादलका लागि मत मागे ।

एउटा सांसद पदको निर्वाचनमा ओलीले खुलेयाम निर्वाचन आचार संहिताको धज्जी उडाउँछन् भने उनकै नेतृत्वमा हुने निर्वाचनमा कतिको धाँधली होला ?

प्रमुख विपक्षी नेपाली कांग्रेसले यसबारे ध्यान दिनुपर्ने देखिएको राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन् । त्यसैले चुनावी सरकारको नेतृत्व अर्कै व्यक्तिले गर्नुपर्ने आवाज उठेको हो ।

 

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal