गृहपृष्ठ पालेर्मो प्रोटोकल कार्यान्वयनका लागि ऐनहरुमा गर्नुपर्ने संशोधनबारे छलफल

पालेर्मो प्रोटोकल कार्यान्वयनका लागि ऐनहरुमा गर्नुपर्ने संशोधनबारे छलफल

काठमाडौं, ७ फागुन । नेपालले गत वर्ष प्रतिनिधिसभाबाट अनुमोदन गरेको अन्तर्राष्ट्रिय संगठित अपराधविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पूरक आलेख (पालेर्मो प्रोटोकल) कार्यान्वयनका लागि विभिन्न ऐनहरुमा गर्नुपर्ने कानुनी संशोधनबारे छलफल भएको छ । नेपाल उक्त आलेख (अभिसन्धि) अनुमोदन गर्ने १ सय ७४ औं मुलुक हो ।

महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले शुक्रबार आयोजना गरेको सञ्चारकर्मीहरुसंगको छलफल कार्यक्रममा संशोधनका लागि आवश्यक कानुनहरुको बारेमा चर्चा भयो । सो क्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले विभिन्न कानुनहरुमा उपलेखको मापदण्डअनुसार गर्नुपर्ने संशोधनहरुको प्रस्तावित मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

संशोधन गर्न आवश्यक कानुनहरुमा मानवबेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४, वैदेशिक रोजगारी ऐन २०६४, अध्यागमन ऐन २०४९, बालश्रम (निषेध र नियमित) ऐन २०६४, श्रम ऐन २०७४, पारस्परिक कानुनी सहायता ऐन २०७०, संगठित अपराध निवारण ऐन २०७०, कसूरजन्य अपराध सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७०, सुपुर्दगी ऐन २०७० छन् ।

 

छलफलका क्रममा निर्देशक श्रेष्ठले पालेर्मो प्रोटोकल कार्यान्वयनपछि मानवबेचबिखन तथा ओसारपसार, महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसार रोकथाममा मद्दत पुग्ने बताउनुभयो । साथै, उहाँले बेचबिखन तथा ओसारपसारबाट पीडित व्यक्तिहरुलाई उनीहरुको मानवअधिकारको पूर्ण सम्मानका साथ संरक्षण एवं सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उपलेखका उद्देश्यहरु पूरा गर्न पक्ष राज्यहरुबीच आपसी सहयोग अभिवृद्धि गर्न आवश्यक रहेको श्रेष्ठले औँल्याउनुभयो ।

नेपालले आलेखको धारा १५ मा उल्लेखित विवाद समाधानसम्बन्धी प्रावधानमा भने ‘रिजर्भेसन’ राखेको छ । उक्त धाराको उपधारा २ मा दुई मुलुकबीच विवाद भए अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्ने उल्लेख छ । नेपालले यसलाई अदालतमा नभएर कूटनीतिक र राजनीतिक रूपले हल गर्नुपर्छ भन्ने मान्यताअनुसार रिजर्भेसन राखेको हो ।

उक्त धारामा उल्लेख भएअनुसार नेपालमा रहेका शरणार्थी, द्वन्द्वकालीन मुद्दामा संलग्न व्यक्ति र अधिकारकर्मीलगायतलाई बलपूर्वक फिर्ता लैजाने र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्न सक्ने खतरा रहेकाले यस्तो रिजर्भेसन राखिएको हो ।

के छ पालेर्मो प्रोटोकलमा ?

आलेखमा उल्लिखित विषयमा विवाद भए मध्यस्थताकर्ताको समन्वयमा समाधान खोजिने व्यवस्था छ । मध्यस्थता गठनमा ढिलाइ भए विवादलाई एउटा राज्य पक्षले अन्तर्राष्ट्रिय न्यायालयमा पेस गर्न सक्नेछ ।

मानव बेचबिखन तथा ओसारपसारका सम्पूर्ण पक्षलाई सम्बोधन गर्ने विश्वव्यापी लिखत नभएको सन्दर्भ उल्लेख गर्दै संयुक्त राष्ट्रसंघले यो आलेख ल्याएको हो । अन्तर्राष्ट्रिय रूपमै बेचबिखन रोक्न र सजाय गर्न इटालीको पालेर्मोमा सन् २००० डिसेम्बरमा हस्ताक्षर खुला गरिएको थियो । त्यसैले यसलाई पालेर्मो प्रोटोकल पनि भन्ने गरिएको हो ।

आलेखमा हस्ताक्षर गरेका मुलुकले बेचबिखनमा परेका पीडितको सुरक्षा, शिक्षा, क्षतिपूर्ति, आवास, कानुनी तथा स्वास्थ्योपचार पाउने गरी आन्तरिक कानुन निर्माण गर्नुपर्नेछ । आलेखको धारा ७ ले पीडित जहाँको नागरिक भए पनि बेचिएको वा आतिथ्य प्रदान गर्ने मुलुकले उसलाई स्थायी वा अस्थायी बसोबासको अनुमति दिन सक्ने व्यवस्था गरेको छ । आलेखले १८ वर्ष पूरा नभएकालाई बालबालिका मानेको छ ।

आलेखको धारा ८ (१) मा भनिएको छ, ‘मानव बेचबिखन तथा ओसारपसारबाट पीडित व्यक्ति आतिथ्य प्रदान गर्ने राज्य पक्षको इलाकामा प्रवेश गर्दाका बखत जुन राज्यको नागरिक रहेको थियो वा जहाँ त्यस्तो व्यक्तिको स्थायी बसोबासको अधिकार रहेको थियो, त्यस्तो राज्य पक्षले सुरक्षामा उचित ध्यान दिई अनुचित वा अनावश्यक विलम्ब बिना फिर्ता ल्याउन सहजीकरण गर्ने र स्वीकार गर्नेछ ।’

आलेखको पक्षमा रहेका मुलुकहरूले सीमाबाट पार भएका वा हुन लागेका व्यक्तिको विषयमा बेचबिखनका सूचना आदानप्रदान गर्नेछन् । यसबाट पीडित वा पीडकको अनुमतिपत्र, अनुमतिपत्रको किसिम, संगठित आपराधिक समूहले प्रयोग गरेको माध्यमलगायतका विषय आदानप्रदान गरिनेछ । बेचबिखनमा प्रयोग हुने नाका नियन्त्रण गर्ने, बेचबिखनमा प्रयोग भएका सवारीसाधनलाई रोक लगाउने जस्ता काम सम्बन्धित सरकारले गर्न सक्ने व्यवस्था आलेखमा छ । अन्तर्राष्ट्रिय सीमापार गर्ने यात्रुले जुन सवारीसाधन प्रयोग गरे पनि यात्रा अनुमतिपत्र भने यात्रुले आफैंले राख्नुपर्नेछ ।

प्रकाशित समय २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्