Gopal Dahal

चरा

राझैँ मुक्त भै उड्ने
रहर सबैमा जाग्छ
ऊ स्वतन्त्र छ र उड्न सक्छ
उड्न सक्छ र मुक्त आकाश पाएको छ ।

उड्न सक्ने भए
आकाश छुने रहर थियो
सायद उड्नु नै पर्ने भए त्योभन्दा
दिक्दार केही हुन्थेन होला ।

चरा स्वतन्त्र हुन्छ र
निर्बाध मुक्त आकाशमा उड्छ
मुक्त आकाशमा शब्द खोज्छ
स्वतन्त्रताको आवाजका लागि
संसारका हरेक गतिविधि नियाल्छ
र सबै मजा लिइरहन्छ ।

हरेक प्राणीका अघि चुनौती छन्
माता प्रकृतिले
चुनौतीसँग जुझ्न सिकाएकी छिन्
साना चरीलाई ठूलो चरो, ठूलो चरोलाई बाज
सत्रु भइरहन्छन्
चरा संवाहक हो, संवाददाता हो
राजा उपरिचर वसुको नासो
बोक्ने पनि चरा नै थियो
जसले महाभारत बनायो
वेदान्त दर्शनका प्रणेता
व्यास जन्मायो
गुह्यतम् रहस्य खोल्ने शुकदेव
सुगा हुन्
ठूलाठूला कथा जोडिएका छन्
चरासँग
देवदूत भएका छन् चरा
देवताले चराको स्वरूप लिएका हुन्छन् ।

समय बताउँछन् चरा
समयको गीत गाउँछन् चरा
सूर्य उदाएको, काफल पाकेका
हरेक व्यवहारसँग
चरा जोडिएका हुन्छन्
शुभ अशुभमा चरा जोड्छन्
विरहको व्यथा बोल्न
हुचिल क्रन्दन
अभावको काकाकुल
चरीको काँ छ र घर
विचरी चरी !

देवी, देवताका वाहन बनेका छन् चरा
तोता–मैना, परेवा, ढुकुरको प्रेममय
जोडीको निकै ठूलो चर्चा पाइन्छ
शीत छलेको हुन्छ, धुप काटेको हुन्छ
हिमाल देखेको हुनुपर्छ
समुद्र खेलेको हुनुपर्छ
धेरै माथि धेरै माथि
हिमालभन्दा माथि
आकाश छुने रहर हुन्छ ।

उड्छ चरा, उड्छ चरा
चराले नपुग्ने ठाउँ हुँदैन
चराले नचुमेको फूल हुँदैन
चराले नचाखेको फल हुँदैन
चराले पुग्ने जति पृथ्वी
चराचर भन्ने गरिन्छ ।

हरेक व्यवहारसँग जोडिन्छ चरा
काग जत्तिकै चलाख, बकुल्लाको ध्यान
आँगनको बिस्कुन पस्केको खानाझैँ खान्छ
चरा मुक्त छ र उड्छ
उड्छ, उड्छ, फर्केर डालीमा बास बस्छ
सबैलाई उड्ने रहर जगाउँछ
आकाश छुन मन बनाउँछ
खेचरमा विचरण गर्ने चरा
खेचर र आकाश र स्वर्ग र देउता बस्ने ठाउँ
स्वर्गको खबर बोकी ल्याउँछ चरा ।

चरा संस्कृति हो
संस्कृति सरे जस्तै
शब्द, आवाज, सन्देश
एक ठाउँबाट अर्को ठाउँ सार्छ
चरा पुजनीय छन्, अनुकरणीय पनि
मधुर र मुक्त कण्ठले प्रकृति गाउँछन्
कोइली, न्याउली मात्र होइनन्
सबै जसोले आआफ्नो भाव व्यक्त गर्छन्
चरा ।

प्रकाशित समय १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal