गृहपृष्ठ Contact Us
सात मुक्तक

१)
ऐना रुन्छ आफू रोए, अरू हाँसे पनि
भित्रभित्रै घाउ दुखाई मन गाँसे पनि
मतलबी यो दुनियाँ छ, होस गर्नुपर्छ
दुष्टले आदर्शको भाषण छाँटे पनि ।
२)
समयका कान हुन्नन् कसैका कुरा सुन्दैन ऊ
आँखा बेगर सबै देख्छ तर जथाभावी चुन्दैन ऊ
समयको परख गर्न जान्नेलाई केही होला कि त
जालझेलले अघि बढ्न खोज्नेलाई गुन्दैन ऊ ।
३)
मनभित्र, मनबाहिर डर लुकाउने ठाउँ छैन
मान्छेभन्दा अलग्गै मान्छे बस्ने गाउँ छैन
संसारको तहस–नहस भोगाएर देखाउँदै छ
कति आक्रोश, जितमा पनि उसको कतै नाउँ छैन ।
४)
सम्बन्ध त कतिबेला सिसाजस्तै फुट्न सक्छ
संवेदना सकिएपछि माया आफैँ छुट्न सक्छ
समय नि डरलाग्दो भो पापको घडा भरिएर
नियतमा खोट हुँदा आफ्नालाई लुट्न सक्छ।
५)
कुनै जीवन कहिले सुन्दर फूल हुन्छ
नजानेमा यो नै सारै नराम्रो भुल हुन्छ
भाग्यले सकिन्न खोला तर्न जिन्दगीको
बल गर्दा मक्किएको भत्किने पुल हुन्छ ।
६)
सारालाई परास्त गर्न ऊ एक्लै जागेको छ
आफ्नो छायाँ लुकाएर विष छर्न लागेको छ
आतङ्कित यो शत्रुको विनास कहिले होला
संसारलाई नै यसको पीरले सताएको छ ।
७)
कर्कला पातमा पानीको थोपा अडिँदो छ टलपल
वर्षाकालमा पानी बर्सिएर धर्ती हिलिँदो छ दलदल
यसलाई जीवनको अवसर सम्झे रमाइलो हुन्छ
प्रकृति प्रभाव समयले नै चलाउने रै’छ पलपल।
प्रकाशित समय २१:१३ बजे