गृहपृष्ठ ‘असुरक्षित गुलाब’ लोकार्पण

‘असुरक्षित गुलाब’ लोकार्पण

साहित्यकार जीवनसागर भण्डारीको मुक्तक सङ्ग्रह ‘असुरक्षित गुलाब’ आज यहाँ लोकार्पण भएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित विशेष कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति साहित्यकार सरुभक्तले उक्त कृतिको लोकापर्ण गर्नुभएको हो । सो अवसरमा उहाँले जीवन र साहित्य पाटो सँगसँगै भएकाले अब छुट्टाछुट्टै लिन नसकिने बताउनुभयो । मुक्तक सङ्ग्रह समसामयिकतासँगै समाजका विविध आयामलाई चोटिलोरुपमा उतार्न सफल भएको उल्लेख गर्दै उहाँले यो उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने विश्वास व्यक्त गर्नुभयो ।

परिवारका पूर्वअध्यक्ष साहित्यकार ईश्वरमणि अधिकारीले भण्डारीका साहित्यिकलगायत उहाँको व्यक्तित्वको चर्चा गर्दै मुक्तक सङ्ग्रह समाजको यथार्थलाई बिम्वात्मक र व्यग्याङ्त्मकरुपमा प्रस्तुत गर्न सफल भएको बताउनुभयो ।

समालोचक सञ्जीव तिवारीले नेपाली साहित्यमा भण्डारीका मुक्तक उल्लेखनीय हुने बताउँदै मुक्तकमार्फत भण्डारीले राजनीतिक र सामाजिक विकृतिमा व्यङ्ग्य प्रहार गरेको उल्लेख गर्नुभयो । मुक्तकमा नेपाल र नेपालीको भविष्यका विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, गजलकार प्रकट पगेनी ‘शिव’, गजलकार दीपक समिप, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यलगायतले साहित्यकार भण्डारीको साहित्यिक जीवनको सफलताको शुभकामनासहित साहित्यप्रतिको आफ्नो धारणा राख्नुभयो ।

परिवारका अध्यक्ष मोती भुजेलले भण्डारीमा राजनीतिक र सामाजिक यथार्थलाई सरल र स्पष्टरुपमा चोटिलो प्रहार गर्नसक्ने क्षमता रहेको उल्लेख गर्दै साहित्यले समाजको तत्कालीन परिवेशलाई उतार्न भएकाले समाजका परिवेश बुझ्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

परिवारले प्रकाशन गरेको २७ औँ कृति ‘असुरक्षित गुलाब’मा १२० पृष्ठ र १०७ मुक्तक समावेश रहेको परिवारका सचिव डा चैतन्य अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित समय २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्