गृहपृष्ठ नफर्कने छाेरीलाई

नफर्कने छाेरीलाई

मैले बाजी जितेकाे दिन जब उनले हात मेराे नछाेडी।
मैले हारेँ जिताएँ खसम हजुरकी सुम्पिएँ आज छाेरी ।।
भन्दा भन्दै विधाता निठुर बनिदियाे मातृवात्सल्य खाेसी ।
हेर्छिन निष्प्राण छाती टुलुटुलु दुहिता भाेकले दूध खाेजी।।

हुर्के पश्चात बचेरा भुरूरूरू गुँडनै चट्ट बिर्सेर हिँड्छन्।
पल्किन्छन ती सुनाैला सहर शयलमा शीघ्र वात्सल्य भुल्छन् ।।
छिट्टै फर्किन्छु बाबा नरूनु अब भनी आशु पुछ्दै उडेकी।
टेक्ने लठ्ठी नभेट्दा धरमर म हुँदा फर्किँदैनाै त छाेरी ?

बामे सर्दै गरेका अभिनव पदका चाप सम्झन्छ छाती।
ताेते बाेल्दै गरेकाे पुलकित मुखकाे यादलेे पाेल्छ राती।।
रित्ता भित्ता नियाल्दा नियमित ममता रित्तिएला भनेर ।
तिम्रा तस्वीर टाँसेँ तरपनि तकिया ओसिएकै छ धेर।।

छैनन् हाँगाविँगामा ढुकुरकुर गरी कुर्लने प्रेमपन्छी ।
रित्ता भाँडा मझेरीभरि छरिबरि छन् तात्न मान्दैन कन्ती ।।
खाेक्दा घाँटी सुकेकाे टुलुटुलु करूवा हेर्छ लाचार बन्दै।
भाेकै सुत्दा अँगेनाे पुलुपुलु मतिरै हेर्छ धिक्कार भन्दै ।।

खेल्दै गर्दा भँगेरा चिरबिर गुँडमा गाैँथली च्यार्र गर्दा ।
तिम्रै आयाे झझल्काे झलझल दुहिता झस्किएँ झट्ट हेर्दा।।
छाेरी तिम्राे प्रतिक्षा अब म कति गरूँ सासले एकमुठ्ठी।
तिम्रै पाइ चितामा हुरूरूरू म जलुँ हातकाे दागबत्ती।।

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्