Gopal Dahal

गृहपृष्ठ रोकिएका सबै परीक्षाहरु वैकल्पिक विधिबाट लिन त्रिविको आग्रह

रोकिएका सबै परीक्षाहरु वैकल्पिक विधिबाट लिन त्रिविको आग्रह

TU-candles khabar

त्रिभूवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण रोकिएका वा हुन नसकेका परीक्षाहरु वैकल्पिक विधिबाट लिन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।

विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त वास्कोटाले सोमबार विज्ञप्ति निकालेर कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिवेशमा शैक्षिक गतिविधिमा असर नपार्नका लागि वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन अनुरोध गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यस विषम परिस्थितिसँग जुध्न आफ्नो तर्फबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग अगाडि बढाउन र पठनपाठन अवरुद्ध हुन नदिनका लागि वैकल्पिक विधि मार्फत सुचारु भएका कक्षाहरुलाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी रहेका कक्षाहरु सुचारु गर्न तथा रोकिएका परीक्षाहरु पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’

विद्यार्थीहरुलाई तत्काल आ–आफ्नो विभाग, क्याम्पस, स्कूल तथा डीन कार्यालयको सम्पर्कमा आउन पनि उपकुलपछि वास्कोटाले आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण त्रिभूवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर, स्नातकसहित विभिन्न तहका परीक्षा रोकिएका छन् ।

विज्ञप्तिमा अहिलेको समयमा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन उनको आग्रह छ । उनले भनेका छन्, ‘यस्तो आक्रान्त परिवेश, विषम परिस्थिति र संवेदनशील घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्छु । साथै महामारीमा संघर्ष गरिरहनु भएको सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्दछु ।’

प्रकाशित समय १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal