गृहपृष्ठ मन्त्रिपरिषद्को निर्णय कुर्दै महानगर, माघको पहिलो हप्ताबाट खोल्ने तयारी

मन्त्रिपरिषद्को निर्णय कुर्दै महानगर, माघको पहिलो हप्ताबाट खोल्ने तयारी

काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

विद्यालयको सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरषद्मा सिफारिस पठाएको र यसै निर्णयको कुरेर बसेको महानगरका शिक्षा विभाग प्रमुख ढकालले बताउनुभयो । मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरपालिकाका विद्यालय खोल्ने निर्णय गरे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी, सामुदायिक विद्यालय खोल्न अनुमती दिने महानगरको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयले बनाएको विद्यालय कार्य ढाँचा अनुसार स्वास्थ्य मापदण्ड अनुसार स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्ने र साथै नगरले पनि आफनो कार्य ढाँचा बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो । विद्यालय सुचारु गर्दा अनुगमनलाई प्रभावकारी बनाउने महानगरको तयारी छ । कोरोनाको जोखिमालाई मध्यनजर गरेर विद्यालय सुचारु हुँदा केन्द्र स्तर र वडा कार्यालयबाट अनुगमन गर्ने गरि गृहकार्य भइरहेको समेत शिक्षा विभाग प्रमुख ढकाल बताउनुहुन्छ ।

अनुगमन गर्नको लागि वडा, केन्द्रमा पनि उपमेयरको अध्यक्षतामा कमिटी रहेको महानगरको भनाई छ । अनुगमन गर्दा वडा स्तरबाट गरियो भने बढी प्रभावकारी हुने उहाँ बताउनुहुन्छ । स्वास्थ्यका मापदण्ड पुरा गरेको वा नगरेको हेरेमा मात्र विद्यालय खोल्न दिने ढकाल बताउनुहुन्छ । विद्यालय खोल्ने वा नखोल्ने सम्बन्धमा मंसिर महिना देखि नै सरोकारवाला निकाय संग निरन्तर गरिरहेको उहाँ बताउनुहुन्छ ।

सामुदायिक विद्यालयका प्रमुख, प्यापसन, एनप्यापसन, अभिभावक संघ, शिक्षा विद् लगायत स्वास्थ्य विद्हरु संग छलफल गरे पछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र संग छलफल गरेको महानगरका शिक्षा प्रमुख ढकाल बताउनुहुन्छ ।

महानगर भित्र ७३२ विद्यालय तीन लाख विद्यार्थी

काठमाडौं महानगरपालिका भित्र विद्यालय सुरु भए पछि ३ लाख विद्यार्थीले अध्ययन गर्ने छन् । महानगर भित्र सामुदायिक विद्यालय ९१ र निजी विद्यालय ६४१ रहेको महानगरपालिकाका शिक्षा प्रमुख ढकालले गोरखापत्र अनलाइनलाई बताउनुभयो । महानगरमा सामुदायिकमा भन्दा निजी विद्यालयमा विद्यार्थीको संख्या धेरै मात्रमा रहेका छन् ।

देशका धेरै ठाउमा खुल्न थाले शैक्षिक संस्था

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाहरु पनि खुला गरि पठनपाठन धेरै ठाउमा सुरु भइसेको छ । यसैबीच धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा समेत स्कुल, कलेज सुचारु हुन थालेका छन् । ललितपुर महानगरपालिकाले ललितपुर महानगरभित्रका शैक्षिक संस्थाहरु सुचारु गर्ने निर्णय गरिसकेकोे छ । विद्यार्थीहरु घरमा अनलाइन माध्यमबाट पढ्दा असहज भएको भन्दै आम अभिभावकको गुनासो आएपछि हालको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउनुहुन्छ ।

स्कुल, कलेज सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड मान्नु अनिवार्य गरेर वडा कार्यालयले अनुमति दिने गरी खुला गरेको उहाँले बताउनुभयो । हालको अवस्थामा सवै शैक्षिक संस्था खोल्न दिने र कोरोनाको संक्रमणको जोखिम बढ्यो भने अर्को निर्णय लिने समेत प्रवक्ता महर्जनको भनाइ छ ।
साथै सामुदायिक विद्यालयमा कोरोनाबाट जोगिनका लागि चाहिने स्वास्थ्य सुरक्षाका सामाग्री महानगरपालिकाले निःशुल्क उपल्वध गराउने निर्णय गरेको समेत प्रवक्ता महर्जनले बताउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी देशका धेरै ठाउँमा स्कुल, कलेज सुचारु हुन थालेको बताउनुहुन्छ । कोरोना जोखिमलाई विचार गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन हुने क्रम दिन प्रतिदिन बढिरहेको उहाँले बताउनुभयो ।

कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या कम गराएर दुई सिफ्ट र जोर बिजोर प्रणालीबाट सुरु भइरहेको समेत अध्यक्ष पुरीले जानकारी दिनुभयो । दीर्घरोगी बिरामी भएका विद्यार्थीलाई छुट्टै कक्षा र अनलाइन कक्षाबाट सुविधा दिएर पढाइ भइरहेको उहाँ बताउनुभयो । चैत्र महिनाभित्र सेसन सिध्याएर सेसन खेर जान दिन हुन्न भनेर तयारीका साथ धेरै ठाउँमा पढाइ भइरहेको उहाँले जानकारी दिनुभयो ।सरकार पनि यसै योजनाका साथ अगाडि बढेको उहाँको भनाइ छ ।

कक्षा सुचारु भएका ठाउँका विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर पढ्न पाउँदा उत्साहित भएको अध्यक्ष पुरी बताउनुुहुन्छ । कोरोनाको महामारीमा पनि हालसम्म सामुदायिक विद्यालयका विद्यार्थीले ४० देखि ६० र निजी क्षेत्रमा ७५ प्रतिशत विद्याथीले अनलाइन कक्षा लिएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्ड पाल्ना गर्नु अनिवार्य

यता जनस्वास्थ्य विद् डा.शरद वन्त नेपाल कोरोना जोखिममै रहेको बताउनुहुन्छ । जोखिममा रहँदा पनि सधैंभरि व्यापार व्यावसाय काम बन्द गरेर यसको समाधानको विषय नभएको उहाँ बताउनुहुन्छ । यसैबीच अरु व्यापार व्यावसायसँगै शैक्षिक संस्था पनि सधैभरि बन्द गर्नुपर्छ भन्ने आफनो मान्यता नरहेको जनस्वास्थ्यविद् डा. वन्त बताउनहुन्छ ।

शैक्षिक संस्था सुचारु संगै जनस्वास्थ्यका मापदण्ड पालना गर्न अतिनै जरुरी हुने उहाँको सुझाब छ । घरदेखि स्कुलसम्मको जाने र फर्कनसम्मको अवस्थामा बढी कसरी सुरक्षित हुन सकिन्छ भनेर सरकारले जारी गरेका मापदण्ड पालना गर्नु अनिवार्य जस्तै रहने उहाँ बताउनुहुन्छ ।थोरै संख्यामा कक्षा सञ्चालन गर्ने , सिफ्ट वा पहिलाको भन्दा समय घटाएर अर्थात् कसरी सुरक्षित तरिकाले पढाउन सकिन्छ भनेर सचेत भएर सञ्चालन गर्नु र्नेमा उहाँको जोड छ ।

यसको साथै खाजा खाने समयमा पनि विद्यार्थीको भिडभाड हुने भएकोले त्यसमा पनि ध्यान दिन आवश्यक रहेको जनस्वास्थ्य विद् डा. वन्त बताउनुहुन्छ । सवै सचेत भएर स्वास्थ्यका मापदण्ड पाल्ना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले मापदण्ड पालना गरे मैरे लागि हो भन्ने सोच्यो भने सुरक्षित रहन सकिने उहाँ बताउनुहुन्छ ।

प्रकाशित समय २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्