गृहपृष्ठ केपी ओलीले पार्टी फुटाए सबैले थुक्छन्, इतिहासले धिक्कार्छ

केपी ओलीले पार्टी फुटाए सबैले थुक्छन्, इतिहासले धिक्कार्छ

नेकपाभित्र जारी विवाद समाधानउन्मुख हुन छोडेर विभाजनको डिलतिर धकेलिएको छ। मुख्यतः प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको बहुमत त्यागेर सरकारका लागि साझेदारी गर्न कांग्रेससँग प्रस्ताव गरेपछि विवाद झन् गहिरिएको हो। पार्टी फुटाएरै भए पनि सरकार जोगाउने कदमपछि नेकपाका अधिकांश नेताहरु ओलीसँग आक्रोशित बनेका छन्।

नेकपा वरिष्ठ नेता माधव नेपालले पार्टी फुटाउन खोज्ने अपराधी भएको बताउँदै फुटाउन खोज्नेको पछि कोही नलाग्ने बताएका छन्। डिसी नेपालसँगको अन्तर्वार्तामा नेता नेपालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको अहंकारका कारण पार्टी चरम संकटमा पुगेको आरोप लगाए।

प्रचण्डलाई फकाएर आफूलाई एक्ल्याउने प्रयास गरेपनि सफल नभएपछि प्रचण्डलाई एक्ल्याउन फेरी आफूलाई प्रयोग गर्न खोजेको उनले बताए। अहंकार र भजनमण्डलीको स्तुतीगान सुन्ने बानी परेको कारण केपी ओली बैठकबाट भाग्ने गरेको समेत उनको जिकिर छ।

नेता नेपालले ओलीमा चरम व्यक्तिवाद भएका कारण समस्या निम्तिएको बताए। “उहाँमा व्यक्तिवाद छ। उहाँमा अहंकार छ। मपाईँवाद छ। म नै सर्वेसर्वा हुँ भन्ने उहाँको सोच छ। अरुसँग भएका योग्यता, क्षमता, खुवी, अनुभवलाई २ पैसाको पनि महत्व दिनुहुन्न। उहाँलाई छलफलमा विश्वास छैन।” नेता नेपालको भनाई छ, “उहाँलाई कमिटीको वैठकमा विश्वास छैन। उहाँलाई व्यापक वहसहरुमा रुचि छैन। वहस, विवाद, छलफलबाट एउटा निकासमा पुगिन्छ। ‘वादेवादे जायदे तत्वबोध’ भनिन्छ।”

ओलीले दासत्वलाई संरक्षण गरेको नेता नेपालको आरोप छ । ‘उहाँमा रहेको व्यक्ति पूजाको प्रवृति रहेको छ। फोटोको संस्कारलाई मान्यता दिनुहुन्छ।’ नेपाल भन्छन्, ‘फोटोको विज्ञापन, फोटाको प्रचार प्रसारहरु, त्यसले के हुन्छ भने मान्छेमा अहंकार जन्म हुन्छ। आफ्नो अपरिहार्यता जन्म हुन्छ। म नै सर्वेसर्वा हुँ भन्ने हुन्छ।’

उनले यसलाई बा संस्कृतिको नाम पनि दिएका छन् । अर्को भाषामा भन्दा ‘बा’ संस्कृति छ। उहाँ ‘बा’ भएको शब्दलाई रुचाउनु हुन्छ।” नेपालको आरोप छ, “उहाँको उमेरको भन्दा पनि बढी मान्छेले बा भनिदियो भने उहाँ दंग पर्नु हुन्छ।”

केपी ओलीले उपयोगितावादको रणनीति प्रयोग गरेको बताउँदै नेपालले एकविरुद्ध अर्को खेलाएर आफ्नो स्वार्थ सिद्द गर्ने प्रवृत्तिको बिरोध गरेका छन्। “एकले अर्कोलाई खेलाई राख्ने, उपयोग गर्ने, उपयोगितावाद भयो।’ उनले अगाडि भनेका छन्ः पहिले उहाँको लडाई मसँग भयो। त्यसपछि प्रचण्ड जीसँग भयो। कहिले प्रचण्डजी लाई विश्वास जितर मलाई एक्लो बनाउने कोसिस भयो। अहिले मलाई फकाएर प्रचण्ड जिलाई एक्ल्याउने कोसिस जारी छ। प्रचण्ड र मलाई नसकिएपछि वामदेवलाई पनि फकाउन सकिन्छ कि भन्ने छ। एउटै चीज मलाइ, प्रचण्डलाई र वामदेवलाई दिने भन्नुहुँदो रहेछ। सबैलाई एउटै पदको लोभ देखाउने हामी पदका लोभि त हौइनौं।

पदको लडाई त होइन यो। यो त पार्टी कस्तो बनाउने भन्ने सम्बन्धको लडाई हो। यो कस्तो नीति अवलम्बन गर्ने भन्ने कुराको लडाई हो। भ्रष्टाचारलाई निमिट्यान्न पारौं भन्ने हाम्रो भनाइ हो। भ्रष्टाचारको भागवण्डा पाएनौं भन्ने लडाई होइन। जनता रोग भोकले सडकमा छटपटाइरहेका छन्। त्यसको सम्बोधन कसरी गर्ने भन्ने कुराको लडाइ हो यो।

अध्यक्ष ओलीले बैठकका लागि आनाकानी गर्दा समस्या जन्मिएको नेपालको ठहर छ। सचिवालयको बैठक बोलाउन दर्जनौपटक बिन्ती बिसाउँदा समेत त्यसको वास्ता नभएपछि लिखित निवेदन दिनुपरेको उनले अन्तर्वार्ताका क्रममा स्मरण गरेका छन्।

अध्यक्ष प्रचण्डले बारम्बार बैठक बसाल्न अनुरोध गर्दासमेत ओलीले नटेरेको उनले बताए। कोरोनाका कारण उत्पन्न समस्याका बारेमा समेत आफूले र नारायणकाजीले विशेष छलफल गरौं र बैठक गरौं भनेर प्रस्ताव राखेको उनले सुनाए।

“प्रचण्डजीले अनेकौंपटक प्रयास गर्दाखेरी पनि हाम्रो अध्यक्ष र प्रधानमन्त्री केपी ओलीजी बैठक बोलाउन तयार हुनु भएन।’ उनले भनेका छन्, “मैले पनि पटकपटक बैठकको नियमित आयोजना गरौं, हप्तामा एकपटक अनिवार्यरु पमा गरौ, सिस्टम नै बसालौं, नौजना त हो नि, एक घण्टामात्र बसेर छलफल गरे सकिँदैन ? औपचारिक नै गर्नु पर्ने भन्ने हुन्छ ? भने।”

तर अध्यक्ष ओलीले भने बैठकबाट भाग्न खोजेको उनको भनाइ छ। ओलीलाई बैठकबाट एलर्जी भएको उनको तर्क थियो।

ओलीले मौखिक रुपमा जतिपटक अनुरोध गर्दा पनि बैठक बस्न नमानेपछि लिखित पत्र लगेर गएको उनले बताए। तर लिखित पत्र लेख्दा समेत ओलीले उल्टै अहंकार देखाएको नेपालको भनाइ छ। ‘प्रतिवेदनभन्दा पहिला दुई पानाको बैठकको निम्ति आग्रह पत्र लिएर गएका थियौं। निवेदन दर्ता गर्न गर्यौं। आग्रह गर्न गर्यौं।’ उनले अगाडि थपे, ‘कस्तो विडम्बना ?एउटा पार्टीभित्र, पार्टीको सचिवालयको बैठक प्रत्येक हप्ता बस्नुपर्नेमा, त्यो सचिवालयको बैठक बोलाउनका लागि ५ जना बरिष्ठ व्यक्तित्वहरु, दशकौंसम्म पार्टी हाँकेका नेताहरु, ३ जना मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिहरु थियौं त्यहाँ। उपप्रधानमन्त्रीहरु छन् त्यहाँ। सब लाइन लागेर गएका छन् त्यहाँ। जस्तो महाराजाको दरवारमा गएजस्तो। हजुर बैठक बोलाइदिनु पर्यो भनेजस्तो। उहाँले, हुँ‘ तोक लगाइदिन्छु। जवाफ पाइयो। मैले भने, तपाईँको यो अहंकार तोक लगाउने ? मिति तोकौं।

प्रकृयाबाट हुन्छ भन्नुभयो। मैले फेरि पनि भनें तपाईँमा यत्रो अहंकार जागेको ? हामीले कल गरेको आधारमा बोलाउनु पर्नेमा प्रचण्ड थाकिसक्नु भयो। मैले महासचिव विष्णु पौडेललाई पनि कतिचोटि भनेको छु। यो पार्टी एकताको कामको कागजपत्र तयार गरेर एक कपी मलाई दिनुस् भनेर।

पार्टी एकताको काम १ महिनामा सकिन्थ्यो १ महिनामा। पारदर्शी तरिकाले गर्ने हो भने, मापदण्डका आधारमा गर्ने हो भने, आजसम्म एउटामात्र रेकर्ड हो र यो। मेरो भनाइ के हो भने कुनै पनि चीजको विधि बनाउँदाखेरी, विधान बनाउँदाखेरी, मापदण्ड तयार गर्दाखेरी, बहसहरु गरौं। त्यो भयो भने काम गर्ने बाटोमा विवाद हुँदैन।

पार्टीको बैठकमा २ वटा ज्यूदै नेताको फोटो टाँसियो। सबैले देख्नुभयो। त्यसको पहिलो विरोध गर्ने मान्छे मै हो। हाम्रो कम्युनिष्ट पार्टीमा जिम्मेवारीका हिसाबले कोही ठूलो सानो भएपनि सबै समान हुने नेपालले बताए। तर अध्यक्ष ओलीले भने सामन्ती रवाफ देखाएको नेपालको आरोप छ।

पार्टीको सचिवालय बैठकको एउटा दृश्य उनले यसरी सुनाएका छन्ः पार्टीको बैठकमा देख्नु हुन्छ। ठूलठूला २ वटा कुर्सी हुन्छन्, अनि अरु हामी सबै उहाँहरुका द्वारपाल जस्ता। एउटा वैठकको व्यवस्थापन कस्तो भएको थियो भने, २ वटा विशाल कुर्सीहरु छन्। एउटाको छेउमा माधवकुमार नेपाल बसेको छ। अर्काको पछाडि झलनाथ खनाल।

पछाडि ५ जना अरु सिपाहीजस्ता छन्। बलिया हवल्दारहरु बस्या छन्। ती बलिया हवल्दारहरु, वामदेव गौतमदेखि लिएर रामबहादुर थापा बादलहरु छन्। ईश्वर पोखरेलदेखि नारायणकाजी श्रेष्ठसम्म बस्या छन्। त्यो देख्दा मलाई त खपिनसक्नु भयो। संसारको शक्तिशालि नेतामा पर्नुहुन्छ सी जिन पिङ। उहाँको पार्टीको बैठक हेर्नुहोस् त तपाईँ।

एउटै साइजको कुर्सी हुन्छ। हामीले पटक पटक उठाएका छौं। ‘नोबडी सुप्रिम इन आवोर पार्टी, वी अल आर इक्वल’। तर, ‘यु आर द फस्र्ट एमङ्ग द इक्वल, बिकज अ पर्सन हु टेक द रेस्पोन्सिविलिटी इज द फस्र्ट पर्सन’, समानहरु भित्रको पनि पहिलो व्यक्ति, हामी समान हौं। राजनीतिक इतिहासको कुरा गर्नुहुन्छ भने हामी अझै सिनियर हौंला नि त।

नेता नेपालले केपी ओलीले आफ्ना गलत कुरा स्वीकार्नुभन्दा उल्टै धम्की दिने गरेको बताए। विधि र पद्धतीको कुरा उठाउँदा म कडा कदम चाल्छु भनेर धम्क्याउने गरेको उनको अनुभव छ। यो कडा कदमलाई उनले यसरी ब्याख्या गरेका छन्ः

मैले बुझेको पहिलो कुरा पार्टी फुटाइदिने, दोश्रो कुरो संसद विगठन गरिदिने। तेस्रो भनेको प्रतिपक्षीलाई मिलाएर जाने, प्रतिपक्षभित्र पनि फाटो ल्याइदिने, र संकटकाल लगाउने। भन्नेले त गणतन्त्र सिध्याइदिने पनि भन्छन् मलाइ त्यस्तो त लाग्दैन। तर, उहाँले गलत कदम चाल्न सक्नु हुन्छ।

राजा आऊ देश बचाउन भन्ने नारा लागिरहेको बेलामा संविधानमा भएको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द हटाउनु गल्ती भयो । म पनि नेपालको नाम नेपाल मात्र लेख्नुपर्छ भन्ने पक्षमा थिएँ। मैले सुरुदेखि नै नेपालमात्र राखौं नामको अगाडि धेरै कुरा नजोडौं पनि भनेँ।

तर, राखियो। राखिसकेको छ भने यो कुन बेलामा गर्ने त्यो बहसको विषय हैन ? यसले भोलि विवाद ल्यायो भने पार्टीले डिफेन्स गर्नु पर्दैन ? त्यो कुरा पार्टीलाई थाहा छैन। हामीले पत्रिका पढेर थाहा पाउँछौं हामीले पत्रिकाबाट थाहा पाएपछि हामीले किन जिम्मा लिन्छौं। हामीले निर्णय प्रकृयामा सहभागी भएपछि बल्ल जिम्मा लिन्छौं। मैले धेरैपटक भन्दै आएको छु।

हो मैले मिडियाबाट नै थाहा पाएँ। मैले सोधे पनि। उहाँले भारतीय प्रधानमन्त्रीको विशेष दुतको रुपमा आउनुभएको भन्ने जवाफ दिनुभयो मैले भने यस्ता नचाइने कुरा नगर्नुहोस्। उहाँले आफूले पनि रअका प्रमुख प्लेनबाट झरेपछि थाहा भएको भन्नुभयो। यो नक्कली कुरा नगर्नुस भने।

उहाँको परराष्ट्रमन्त्रीले एक हप्ता पहिलादेखि नै थाहा थियो भन्ने, उहाँले थाहा पाएन भन्ने ? मोदीजी ले पनि राजनीतिक व्यक्तित्व नपठाएर कहीँ अरु पठाउँछन् ? त्यो पनि इन्टेलिजेन्सको मान्छे कसैले पठाउँछ ?

भित्र भएको कुरामा पनि मैले सबै पारदर्शी गरेको छु भनेर उहांले मलाई भन्नुभएको छ। सबै लिखत छ। मैले भने किन लुकाको ? पार्टीको विदेश विभाग प्रमुख म हुँ। मसँग छलफल गर्नु भो ? म किन डिफेन्स गर्छु ? मलाई अन्धकारमा राखिन्छ भने मैले डिफेन्स गर्नु पर्ने कारण के छ ? मैले डिफेन्स गर्न सक्छु।

पार्टी चलाउने मान्छेको तरिका के हुनु पर्छ भने सरोकारवाला सबैलाई विश्वासमा लिने। परेका बेला उहाँहरुले डिफेन्स गर्नुहुन्छ। उहाँले त आफ्नो गुटको मान्छेलाई मात्र विश्वासमा लिनुहुन्छ। त्यहाँ त आदेश दिएपनि भैगो।

जो मान्छेहरु ‘बा’ संस्कृतिमा हुर्केका हुन्, जो भजनमण्डलीमा बसेका हुन् उनको काम नै के हुन्छ र ? म केपी ओलीको विरोधी पनि होइन। यति बुझिराख्नुहोस्, म व्यक्ति विशेषलाई केन्द्रमा राख्दिन। मेरो विचारमा आन्दोलन हुन्छ, मेरो लागि देश हुन्छ, मेरो लागि जनता हुन्छ।

नेकपा पार्टी नफुट्नेमा नेपाल ढुक्क देखिए। “किन फुट्छ पार्टी ? म पार्टीभित्रको बरिष्ठ नेताको पहिलो पदबाट हटेर अपमानको घुट पिएर चौथो नम्बरमा झर्दाखेरी पार्टी फुटाएँ ? अपमानको घुट मैले पिएको हैन” उनले प्रतिप्रश्न गरेका छन्।

यद्यपि नेकपा एमाले नाम दल दर्ता भएपछि कतिपयले शंका गरेको उनले बताए। “मान्छेमा शंका छ। घटनाक्रमले त्यो बताइरहेको छ। तर, उहाँले पार्टी फुटाउने काम गर्नुभयो भने त्यो भन्दा मुर्खता अरु केही पनि हुँदैन। उहाँको पछि कोही पनि इमान्दार मान्छे लाग्दैन।”

यदि केपी ओलीले पार्टी विभाजन गरे भने उनको पछि निकट समर्थकबाहेक अरु नजाने नेपालको ठहर छ। “उहाँको पछि निष्ठावान कोही पनि लाग्दैनन्, उहाँका भक्तहरु, भजनमण्डलीका केही मान्छेहरु लाग्लान्।” उनले भने, “कम्युनिष्ट पार्टीमा नीति प्रधान हुन्छ। व्यक्ति प्रधान हुँदैन। पुष्पलालले प्रष्ट भन्नु भएको छ। कम्युनिष्ट पार्टीमा नीति प्रदान हुन्छ, नेता प्रदान हुँदैन। यो प्रकृयाले जाने हो भने व्यक्ति अपरिहार्य छैन। व्यक्तिहरु आउँछन् जान्छन्।”

केपी ओली सच्चिनु नै अहिलेको समस्याको समाधान भएको नेपालको तर्क छ। उनले भनेका छन्ः उहाँको दिमागलाई परिवर्तन गरौं। सही बाटो अगाल्न सबैले मेहेनत गरौं।

यही मान्छे सही बाटोमा आएपछि सक्किगो नि, हल भइहाल्यो नि। उहाँले सही बाटो समातेर पाटीलाई सिस्टममा लैजानु भयो भने सकियो। हामी कम्युनिष्ट पार्टीको निर्णयलाई मान्न तयार छौं। हाम्रो विधानको धारा ६० मा भनिएको छ(कमिटीको बहुमतको निर्णय नै पार्टीको निर्णय हुने छ।

बाहिर प्रचार पनि के छ भने, उहाँ त नवौं महाधिवेसनबाट अध्यक्ष चुनिएर आएकोले उहाँले अध्यक्ष छोड्नै मिल्दैन। त्यो होइन, त्यो अध्यक्ष आएको हो भने उपाध्यक्ष खोइ पदमा बस्या, उपमहासचिव खै ? सचिवहरु खै पदमा बस्या ?

त्यागको कुरा हामीले गरेका छौं, त्यो पदको त्याग हो कि, विचारको त्याग हो कि ? आफूलाई केन्द्रमा नराखौं। पार्टीभित्रको कचकचले मैले छोडेको हैन त रु मैले त छोडेँ त। मलाई २२ वटा पार्टीको समर्थन हुँदा पनि मैले पार्टीभन्दा ठूलो प्रधानमन्त्री पद हैन भनेर छोडेँ। मैले चुनौति दिएको भए ?

अन्तमा नेपाल भन्छन्ः म के आह्वान गर्न चाहन्छु भने, यो साना दुःखले आज्र्याको पार्टी हैन, साना दुःखले आज्र्याको गणतन्त्र वा लोकतन्त्र होइन। यसमा हाम्रा पुर्खाहरुले पहिलो पुस्ताका नेताहरुले निकै ठूलो रगत पसिना बगाएका छन्। मेहेनत गरेका छन्। त्यो सबैबाट हामीले एउटा ठूलो उपलब्धी प्राप्त गरेका छौं। संविधान बनाएका छौं।

नेपाललाई विकासको नयाँ चरणमा पु(याएका छौं। आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको महान अभियान पूरा गर्न बाँकी नै छ। पार्टी फुट्दैन, फुट्न दिन हुँदैन। जसले फुट्ने कुरा सोच्छ, फुट्ने काम गर्छ त्यो अपराधि हुन्छ त्यस्ताका पछि कोही पनि जाँदैन।

तिनीहरुलाई इतिहासले धिकार्छ। सबैले थुक्छन्। यो जे जति भएको छ सबै पार्टीको बैठक नबस्दासम्म मात्र हो। बैठक बसेपछि सबै समाधान हुन्छ। उपायको खोजी हुन्छ। विश्वासको नयाँ वातावरण बन्छ। विधिमा पार्टीलाई लिएर जाने काम हुन्छ भन्न चाहन्छु।

लोकपाटी न्यूजबाट

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्